काठमाडौं, १५ माघ।
अष्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा नेपालकी शिभाली गुरुङ अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन । अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेकी हुन् ।
शिभालीले ग्रुप ए को तेस्रो खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गरिन् । मेलवर्न पार्क–वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६–०, ६–१ ले सहजै पराजित गरिन् । यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।
ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन् । यस समूहबाट नेपालकी शिभाली र भारतकी जेन्सीले सेमिफाइनलमा स्थान बनाएका छन् । शिभालीले अब सेमिफाइनलमा न्युजिल्याण्डकी मुसेम्मा सिलेकसँग बिहीबारै प्रतिस्पर्धा गर्नेछिन् । यो खेल मेलवर्न पार्क–वेस्ट कोर्ट १४ मा हुनेछ ।
भारतीय खेलाडी जेन्सीले भने जापानी खेलाडी आयोइ योसिदासँग प्रतिस्पर्धा गर्नेछिन् । यो खेल मेलवर्न–वेस्ट कोर्ट १२ मा हुनेछ । समूह ए बाट सिलेक र योसिदा पनि दुई–दुई खेल जित्दै सेमिफाइनल पुगेका हुन् ।
एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गल्र्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।






















