बुटवल, १४ माघ ।
इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक (प्रनाउ) निशान्त श्रीवास्तवलाई बुटवलमा स्वागत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हाल्न आएका प्रनाउ श्रीवास्तवलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।
मंगलबार संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रभावकारी र भरपर्दो व्यवस्थापन गर्न आग्रह गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनमा चुनौती आउन सक्ने उल्लेख गर्दै सन्तुलित र तटस्थ व्यवहारबाट ती चुनौतीलाई व्यक्तिगत करिअर निर्माणको अवसरका रूपमा लिन सकिने बताए ।
कार्यक्रममा प्रनाउ श्रीवास्तवले प्रहरीको पहिलो दायित्व शान्ति सुरक्षा कायम गर्नु भएको उल्लेख गर्दै त्यसप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताए । प्रहरी सेवामा अझै लामो करिअर बाँकी रहेकाले व्यवसायिकता, निष्पक्षता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । बुटवलमा रहँदा सम्झनालायक काम गर्ने लक्ष्य रहेको बताउँदै उनले शान्ति सुरक्षालाई दीगो र भरपर्दो बनाउन नयाँ योजनासहित अघि बढ्ने सोच रहेको उल्लेख गरे । प्रहरी सेवामा केही कमीकमजोरी हुन सक्ने स्वीकार गर्दै त्यस्ता विषय औंल्याइदिन आग्रह गर्दै त्यसमा तत्काल सुधार गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्त ढकाल, सचिव प्रतिक पोखरेलले बुटवल बजारको सुरक्षा चुनौतीका बारेमा बताउदै समाधनका लागि सहकार्य गरि अघि बढ्न आग्रह गरे ।






















