काठमाडौ,१० मसिर।

नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले मंसिर १० गते सूचना जारी गर्दै प्रमाणपत्रका लागि आवेदन दिँदा आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई जानकारी गराएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले विभिन्न समयमा पत्राचार गरेपछि काउन्सिलले यस्तो व्यवस्था लागू गरेको जनाएको छ । काउन्सिलको २०८३ साल असोज १ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि आवेदन पेस गर्दा प्यान तथा कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार काउन्सिलबाट जारी गरिने सबै प्रकारका प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान) तथा सोको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यस्तै, गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि कार्यरत संस्थाबाट जारी भएको हाल कार्यरत रहेको खुल्ने गरी रोजगारीसम्बन्धी पत्रसमेत आवश्यक पर्नेछ । विदेशमा कार्यरत चिकित्सकको हकमा सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

काउन्सिलले आवेदनमा उल्लेख गरिएका विवरण वा पेस गरिएका कागजात झुटा वा गलत भएको पाइएमा तथा सम्बन्धित अवधिमा रोजगारीमा संलग्न रहेको प्रमाण पुष्टि नभएमा प्रचलित कानुन तथा नियमावलीबमोजिम आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ । भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र प्राप्त गर्नसमेत रोक लगाउन सकिने काउन्सिलले जनाएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सूचनाअनुसार नयाँ व्यवस्था २०८३ मंसिर १५ गतेदेखि लागू हुनेछ । यससँगै प्रमाणपत्रका लागि आवेदन दिने चिकित्सकहरूले वास्तविक तथा सत्य विवरण उल्लेख गरी आवश्यक र प्रमाणित कागजात मात्र पेस गर्नुपर्नेछ ।

 

">
Bajaj Grand Exchange Mela