सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाबाट २३१ किलो ८०० ग्राम गाँजा बरामद भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १ बजे बलान खोलाको बीचमा खाल्डो खनेर गाँजा लुकाइराखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा खाल्डोभित्र लुकाएर राखिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको हो। बरामद गरिएको पदार्थको तौल गर्दा २३१ किलो ८०० ग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजा लुकाइएको स्थानमा कुनै पनि व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ। बरामद गाँजा कसले र कुन प्रयोजनका लागि लुकाएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





















