मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण छ। दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरिएको छ।
माइक्रोबसमा चालकसहित १४ जना सवार रहेको खुले पनि मृतक तथा घाइतेको संख्यामा उल्लेखित विवरणसँग यात्रुको संख्या मेल खाएको छैन। दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचानसहित थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





















