Spread the love

काठमाडौं । सम्भावित प्रतिकूल मौसमलाई मध्यनजर गर्दै सरकारले किसानलाई तीन दिन धान नकाट्न आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावना रहेकाले किसानलाई सतर्क रहन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार कात्तिक १२, १३ र १४ गते देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको प्रभाव पर्न सक्ने सम्भावना छ । वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुग्न सक्ने भएकाले तत्काल धान नकाट्न किसानलाई अनुरोध गरिएको छ । प्राधिकरणले उक्त अवधिमा देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्नसमेत आग्रह गरेको छ । पदयात्रामा निस्किसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र मौसममा सुधार नआएसम्म जोखिमपूर्ण यात्रा नगर्न भनिएको छ ।

यसैबीच, बंगालको खाडीमा बनेको ‘अर्णव’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवातको प्रभावका कारण काठमाडौंको आकाशमा सामान्यतया बादल लागेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो छ घण्टामा कोशी प्रदेशको पहाडी तथा तराई भूभागका थोरै स्थानमा हल्का वर्षा भएको छ । सम्भावित मौसमजन्य जोखिमबाट जनधन तथा कृषि उपजमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले जारी गर्ने आधिकारिक सूचना पालना गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्