Spread the love

पोखरा । कास्कीको पोखरामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडस्थित टुँडाबहादुर थापाको घरको भित्री गल्लीमा रहेको ट्वाइलेट जाम भई पानी बाहिर निस्किएपछि घरधनीले ट्वाइलेटको च्याम्बर खोल्दा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का गरी नवजात शिशुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटना पोखरा महानगरपालिका–२१ कृतिमाइतीधारमा माइतीघर भएकी र हाल पोखरा महानगरपालिका–६ लेकसाइडमा भाडामा बस्दै आएकी १९ वर्षीया महिलासँग सम्बन्धित रहेको खुलेको छ । प्रहरीले खोजतलास गर्ने क्रममा ती महिलालाई कात्तिक ४ गते बिहान करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ स्थित टुँडुकसारा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी महिलाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाको सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले महिलालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्