काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले १४ किलो गाँजासहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई असोज १० गते बटिक एयरको उडान नम्बर इम् १८२ मार्फत नेपाल आएका यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा पक्राउ गरिएको हो। उनीहरूको साथबाट १४ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजासहित दुई थान पासपोर्ट र दुई थान मोबाइल फोन बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।





















