बुटवल । नेपाली कला, संस्कृति, स्थानीय खानपान र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा ‘बृहत् शुभ दीपावली साँझ तथा फुड फेस्टिबल–२०८३’ आयोजना हुने भएको छ । ह्याप्पी क्लब र रुपन्देही इभेन्ट्स व्यवसायी संघको संयुक्त आयोजनामा आगामी कार्तिक २३ गते सोमबार बुटवल उपमहानगरपालिका–३, पुल्चोक–गोलपार्कमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममार्फत नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण, स्थानीय कलाकारलाई प्रोत्साहन, खाद्य व्यवसायको प्रवद्र्धन र समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजक संघका अध्यक्ष किरण श्रेष्ठले बताए । दीपावली विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, स्थानीय खाद्य परिकारका स्टल, कलाकारका प्रस्तुति, प्रायोजक संस्थाको ब्रान्डिङ र अतिथि सम्मान कार्यक्रमका मुख्य आकर्षण रहने प्रस्तावमा उल्लेख छ ।
कार्यक्रममा स्थानीय रेस्टुरेन्ट, खाद्य व्यवसायी तथा साना उद्यमीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार गर्ने अवसर प्रदान गरिने छ । त्यस्तै, युवाको सहभागिता बढाउनुका साथै परिवारसहित मनोरञ्जन लिन सक्ने सुरक्षित र व्यवस्थित उत्सवको वातावरण निर्माण गर्ने आयोजकको लक्ष्य छ । स्थापनाकालदेखि नै क्लबबाट सामाजिक सेवा, युवा सशक्तीकरण, मानवीय सहयोग तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक मच्छिन्द्र श्रेष्ठले बताए। सांस्कृतिक कार्यक्रमबाट बचत रकम बिरामीलाई सहयोग, वातावरण संरक्षण, ट्राफिक जनचेतना लगायत अभियान चलाउने उनले बताए। त्यसैगरी, रुपन्देही इभेन्ट्स व्यवसायी संघले टेन्ट, लाइट, साउन्ड तथा डेकोरेसन व्यवसायमा संलग्न व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ । कार्यक्रम सम्पन्न गर्न करीब १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए।
प्रायोजकलाई कार्यक्रमका प्रचार सामग्रीमा लोगो समावेश, मञ्चमा ब्रान्डिङ, उद्घोषणमार्फत पहिचान, डिजिटल प्रचारप्रसार तथा आवश्यकताअनुसार स्टल उपलब्ध गराउने प्रस्ताव गरिएको छ । आयोजकले दीपावलीलाई संस्कृति, सामाजिक सद्भाव, स्थानीय उद्यम र मनोरञ्जनसँग जोड्दै कार्यक्रमलाई सामुदायिक सहकार्यको साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।





















