बुटवल, ९ कार्तिक ।
नेपालका पहाडी क्षेत्रहरुमा विजया दशमीको दिनेदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने ऐतिहासिक र परम्परागत सराँय नाच बुटवलमा पनि देखाईएको छ । अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लाबाट बसाई सराई गरि बुटवलमा बसोबास गर्दै आएका स्थानियहरुले गाउँको झल्को दिने गरि कोजाग्रत पुर्णिमाको दिन सोमबार बुटवलको देविनगरमा वृहत सराँय नाच निकालिएको हो ।
‘बुझौ हामीले रीति थिति, जोगाऔ हाम्रो संस्कृति’ भन्ने मुल नारासहित श्री नव दुर्गा मन्दिर पुजा समितिको आयोजनामा सबैभन्दा पुरानो सराँय नाचको रुपमा प्रदर्शन गर्दै आएको समितिका संरक्षक तथा संयोजक अर्जुन कुँवरले बताए । ‘विगत १७ वर्षदेखि निरन्तर साराँय नाच निकाल्दै आएका छौ ।’– उनले भने । देवि भगवतीको विजय उत्सवका रुपमा खेलिने सराँय नाच आधुनिकतासँगै लोप हुन लागेकाले नेपाली संस्कार तथा संस्कृतिलाई संरक्षण गर्न कार्यक्रम गर्दै आएको कुँवरको दाबी छ । दुर्गामन्दिरमा विशेष पुजाआजाका साथै कोजाग्रत पुर्णिमाका दिन विशेष कार्यक्रम गरिदै आएको उनले बताए ।
देविको मन्दिर तथा कोटघरमा सराय नाच नाचिने परम्परागत प्रचलनलाई बचाउन र नया युवा पुस्तालाई आफनो धर्म संस्कृतिकमा बारेमा परिचित गराउने गरि कार्यक्रम भएको उनले बताए । राक्षसीमाथि देवगणको जितको खुशीमा विजया दशमीको दिनदेखि कोजाग्रत पूणिमा सम्म सराँय नाच नाच्ने प्रचलन पहाडी जिल्लामा रहेको छ ।
सराँय नाचमा सहभागि हुदा कोतघरमा पुजा गरि प्रत्येकले हातमा हतियारसहित पञ्चेबाजाको तालमा गोलाकार रुपमा घुमेर नाचिने गरिन्छ । एकले अर्कालाई हतियार जोडेर आवाज निकाल्दै लयमा गीत समेत गाउने गरिन्छ । गाउघरमा भने प्रतिस्पर्धाका रुपमा लिने र उत्कृष्टलाई पुरस्कृत गरिने हुदा अझ यसको महत्व रहेको छ । त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा रामका सेनाहरुले खुँडा, तरवार, खुकुरी लगायतका हतियार सहित विजय उत्सव गरेको किवदन्ती समेत रहेको छ ।
हतियार चलाउन बानी नपरेकाबाट नाचमा सहभागिमा दुर्घटना निम्तने सम्भावनालाई मध्येनजर गरेर काठका हतियारहरु नाचमा प्रयोग गरिदै आएको समितिका अध्यक्ष कुल बहादुर केसीले बताए । गाउँघरको संस्कृतिको जगेर्ना गर्न र सराय नाच नाच्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणमा आफुहरु बुटवलमा शुरुवात गरेको आयोजकको दाबी छ । देविनगरस्थित वाणिज्य क्याम्पस प्रागणमा आर्कषक मन्दिरको समेत निमार्ण गरि वषेर्नी मेलाका रुपमा कार्यक्रम गर्ने प्रचलन भएको उनले बताए । कार्यक्रममा विभिन्न संघसंस्था साथै रोटरी क्लब अफ बुटवल डाउनटाउनबाट प्रसाद वितरणमा सहयोग भएको थियो ।


















