Spread the love

काठमाडौं, ४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो । डीआरएस क्रिकेटमा अम्पायरले गरेको निर्णयको पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो ।

खेलाडीलाई अम्पायरको निर्णय गलत भएको लागेमा निर्धारित नियमअनुसार चुनौती दिन सकिन्छ । त्यसपछि उपलब्ध प्रविधिको सहायताले निर्णय सही भए वा नभएको समीक्षा गरिन्छ । क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । यसले बलको दिशा र प्रक्षेपण विश्लेषण गरी बल स्टम्पमा लाग्ने सम्भावना थियो वा थिएन भन्ने आकलन गर्न सहयोग गर्छ ।

त्यस्तै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि पुनरावलोकन गर्न सकिनेछ । कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले ब्याटमा बल लागेको आवाज वा संकेत पहिचान गर्ने एज डिटेक्सन प्रविधि पनि प्रयोग गरिने क्यानले जनाएको छ । यसका अतिरिक्त वाइड बलको उचाइ, छक्काको दूरी तथा उचाइ मापन र अन्य बलिङसम्बन्धी विश्लेषणात्मक विवरणसमेत उपलब्ध हुने बताइएको छ ।

क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलोपटक डीआरएस प्रविधिको सबै तयारी भएको बताएका छ । त्यसक्रममा दुई कम्पनीका प्रविधिको परीक्षण गरिएको र तिनको तथ्यपरकता मूल्यांकनपछि अन्तिम निर्णय गरिने उनले उल्लेख गरेका थिए । डीआरएसको प्रयोगले अम्पायरका निर्णयमा हुने सम्भावित त्रुटि कम गर्न र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्