Spread the love

काठमाडौँ । यस वर्ष बडादशैँको टीकाका दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै हल्का वर्षा र हिमपात हुन सक्नेछ।

महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बाहिरिइसकेकाले दशैँका समयमा ठूलो वर्षाको सम्भावना छैन। तर पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही क्षेत्रमा बादल लाग्ने र छिटपुट वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने तथा खुला स्थानमा टीका लगाउने कार्यक्रम बनाएकाहरूलाई मौसमको अवस्थाबारे जानकारी लिन महाशाखाले सुझाव दिएको छ। सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्