काठमाडौं, ४ कात्तिक । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज विजया दशमी हर्षोल्लासका साथ मनाइँदै छ। आज घरघरमा मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। समितिले देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटका लागि निर्धारण गरेको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय निर्धारण गरिएको हो।
टीका लगाउँदा पूर्व फर्केर लगाइदिनुपर्ने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार उत्तम साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ।
दशैँमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यस दिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने गर्छन्।
रोजगारी, अध्ययन तथा पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरू पनि दशैँ मनाउन आफ्नो थातथलो फर्कने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको महत्त्वपूर्ण अवसरसमेत बन्ने गरेको छ।
असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमी नेपाली समाजको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवसरमा घरपरिवार, आफन्त र इष्टमित्रबीच आपसी सद्भाव, प्रेम र एकताको भावना साटासाट गरिन्छ।
बडादशैँको मुख्य दिन आज टीका, जमरा र आशीर्वाद ग्रहण गरिए पनि नेपालका विभिन्न स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने परम्परासमेत रहेको छ।






















