सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले तीन महिलाको शव फेला पारेको थियो । दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी प्रारम्भिक उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा पठाइएको थियो । उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
घाइते हुनेमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ । संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी गरिरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतक तथा बेपत्ता व्यक्तिहरूको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






















