बर्दघाट, ३० असोज ।
ओमनमा जारी लिग २ क्रिकेटको अन्तिम लिगको ओमन विरुद्धको खेलमा क्यानाडाले जित हासिल गरेसँगै शिर्ष ६ स्थान पक्का गर्न नेपाल र क्यानाडा विच कडा टक्कर देखिएको छ ।
नेपाल सम्मिलित अन्तिम लिगमा अहिले नेपाल, क्यानाडा र ओमन विचका खेल ओमनमा जारी छ । हरेक लिगमा प्रत्येक टोलीले ४ खेल खेल्ने प्रावधान अनुसार २ खेल खेलेको नेपालले दुबै खेलमा जित निकाल्दै आफूलाई शिर्ष ६ मा राख्ने सम्भावना कायमै राखेको छ । शिर्ष ६ भित्र पर्न नेपाल र क्यानाडा सँघर्षरत छन, तिन टोलीमध्ये ओमन शिर्ष ४ मा स्थान पक्का गरिसकेको छ ।
नेपालले मँगलबार ओमनलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल शिर्ष ६ मा रहने सम्भावना बढेको थियो तर विहिबार क्यानाडाले ओमनलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेसँगै क्यानाडा शिर्ष ६ दौडमा पुनरागमन गरेको हो । क्यानाडाको पुनरागमन सँगै नेपालले अव खेल्ने २ खेल मध्ये कुनै एक खेल जित्नैपर्ने वा क्यानाडासँग अँक बाँडे मात्र पनि शिर्ष ६ मा पर्नेछ ।
शिर्ष ६ मा कायम रहने गणितिय सम्भावना
अँकतालिकाको विश्लेषण गर्दा नेपालले कुल ३४ खेलबाट २८ अँक बटुलेको छ र नेपालको नेट रनरेट धनात्मक (+)०.००९ रहेको छ । नेपालले अव २ खेल खेल्न बाँकी छ । क्यानाडा ३५ खेलबाट २७ अँक बटुलेको छ र नेट रनरेट ऋणात्मक (—)०.३५९ रहेको छ । यदि दुबै खेलमा जित हासिल गरेमा नेपालको ३२ अँक हुनेछ जसले सहजै शिर्ष ६ मा कायम राख्ने छ । यदि नेपालले ओमनलाई पराजित ग¥यो र क्यानाडाले नेपाल विरुद्ध जित हासिल ग¥यो भने पनि ३६ खेलबाट ३० अँक हुनेछ जुन शिर्ष ६ मा कायम रहन पर्याप्त हुनेछ । यदि नेपाल ओमनसँग झिनो अन्तरले पराजित भयो र क्यानाडासँग बराबरी हुँदै अँक बाँडेको खण्डमा नेपाल र क्यानाडा दुबैको अँक २९ हुनेछ । नेपालको नेटरनरेट धनात्मक भएकोले छैटौँ स्थान कायम रहने सम्भावना बलियो रहन्छ । तर, यदि नेपाल क्यानाडा र ओमन दुबैसँग पराजित भएमा नेपालले शिर्ष ६ मा रहँदै लिगको अन्त्य गर्ने सपना पुरा हुनेछैन । नेपाल दुबै खेलमा पराजित भएमा नेपालको २८ र क्यानाडाको २९ अँक हुनेछ ।
टुट्यो विश्वकप क्वालिफायर सपना, एकदिवसिय मान्यतालाई सँघर्ष
लिग २ का सबै खेल सकिँदा शिर्ष ४ टोली (अमेरिका, स्कटल्याण्ड, ओमन र नेदरल्याण्डस) ले आगामी एकदिवसिय विश्वकप क्रिकेटको लागि सिधै क्वालिफायर प्रतियोगितामा प्रतिष्प्रर्धा गर्नेछन भने उनीहरुको आइ सि सि एकदिवसिय मान्यता समेत कायम रहनेछ । नेपालले अहिले एकदिवसिय मान्यता जोगाउन सँघर्षरत रहेको छ । शिर्ष ६ कायम राख्न सकेको खण्डमा नेपालले विश्वकपको ग्लोवल क्वालिफायर प्रतियोगितामा सहभागिता जनाउन पाउने छ र ग्लोवल क्वालिफायर मार्फत विश्वकपमा सहभागिता जनाउने सम्भावना कायमै राख्ने छ भने एकदिवसिय मान्यताको सम्भावना पनि कायम राख्नेछ । कुनै पनि एसोसियट टोलीका लागि विश्वकप भन्दा पनि एकदिवसिय मान्यता अझै महत्वपूर्ण रहने गर्दछ । एकदिवसिय मान्यता पाएका टोलीले अधिकतम प्रतियोगितामा सहभागिता जनाउन पाउने र आइ सि सि को आर्थिक सहयोग पनि नियमित रहने हुँदा क्रिकेट विकासमा टेवा पुग्छ । नेपालले लिग अन्तर्गत शनिबार क्यानाडा र सोमबार अन्तिम खेल ओमनसँग खेल्ने छ ।






















