काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लिगले मान्यता प्राप्त गरेको जानकारी दिएको हो।
एनपीएलले आईसीसीको आधिकारिक मान्यता पाएसँगै यसमा सहभागी फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि लिगका अघिल्ला दुई संस्करणमा आईसीसीको आधिकारिक मान्यता थिएन।
मान्यताअघि टेस्ट राष्ट्रका बढीमा चार खेलाडी मात्रै अनुबन्ध गर्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको थियो। नयाँ मान्यतासँगै विदेशी खेलाडीको संख्यामा लगाइएको उक्त सीमा हट्ने क्यानको जानकारीले संकेत गर्छ।
एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारसँगै घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।






















