Spread the love

काठमाडौं, ३० असोज । नेपाल टेलिकमले वार्षिक चार हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले आजदेखि लागू हुने गरी सहुलियत दरका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको हो ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला सरकारी स्वामित्वको टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज ल्याएको हो ।

टेलिकमका अनुसार ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाई ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध हुनेछ । जसअनुसार ३० एमबीपीएस गतिको इन्टरनेटको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजअन्तर्गत १०० एमबीपीएसको ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको १६ हजार ४९९ रुपैयाँ शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई पाँच हजार रुपैयाँ लाग्ने जडान शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यी सबै प्याकेज आजदेखि लागू हुनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्