काठमाडौँ, ३० असोज । लुम्बिनी प्रदेशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशसहित देशका अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ ।
त्यस्तै, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।






















