Spread the love

बुटवल, २८ असोज । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यहरूले यातायात व्यवसायीका समस्या समाधानका लागि आवश्यक कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसद सुलभ खरेल तथा समानुपातिक सांसदहरू मन्जु भुसाल र अमृता विकले विगतमा बनेका कतिपय कानुन अव्यावहारिक रहेकाले समयानुकूल संशोधन गर्न आवश्यक रहेको बताए। सुशासन र विकासको गतिलाई तीव्र बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उनीहरूको भनाइ थियो।

सांसद खरेलले तीन तहका सरकारबीच समन्वय अभाव, झन्झटिलो प्रक्रिया र पुराना कानुनका कारण विकासले गति लिन नसकेको बताए। वर्तमान सरकारले नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सम्बन्धित कानुनसमेत संशोधन गरिने बताए।

सांसद भुसालले पूर्वाधार विकास र सुशासन स्थापनाका लागि सरकार तथा संसद् प्रतिबद्ध रहेको बताइन्। सांसद विकले यातायातलगायत सम्पूर्ण व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि पहल गर्ने धारणा राखिन्।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो सञ्चालन खर्च, सवारीसाधनको संख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेको बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि चार्जिङ पूर्वाधार, मर्मतसम्भार, पार्टपुर्जा र सञ्चालन दूरीका चुनौती कायम रहेको उनको भनाइ थियो।

अध्यक्ष खरेलले वैज्ञानिक भाडादर निर्धारण, यातायातसम्बन्धी कानुन सुधार, प्रभावकारी अनुगमन तथा बसपार्क र पार्किङ व्यवस्थापनका लागि सांसदहरूमार्फत सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा सञ्चालकहरू रामचन्द्र भुसाल र मोहन पिएसले यातायात क्षेत्रका समस्या तथा समाधानका उपायबारे धारणा राखेका थिए। सहभागीहरूले यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको औँल्याउँदै चाडपर्वमा सुरक्षित यात्राका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्