काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जान स्वास्थ्य परीक्षण गराउने श्रमिकबाट नेपाल सरकारले तोकेको शुल्कबाहेक गैरकानुनी रूपमा अतिरिक्त रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन् । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कैलाश खड्का, रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीका अनुसार मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) उल्लेख गरी गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिने गरिएको आरोप छ । यसरी संगठित रूपमा रकम संकलन गरी श्रमिकलाई आर्थिक हानि पु¥याएको र प्रतिवादीहरूले आर्थिक लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















