Spread the love

रुपन्देही,३ मंसिर ।

रुपन्देहीको तिलोत्तमामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा तिलोत्तमा स्थित मणिग्राममा सुरु भएको नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको बिहीबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै नगरप्रमुख खाणले निजी क्षेत्रलाई अगाडि नबढाएसम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए । उदार अर्थतन्त्रको अवलम्बनपछि गरिबी घट्नुका साथै उद्योग, व्यापार तथा व्यवसायमा क्रमिक विकास भएको उल्लेख गर्दै उनले अब आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलदेखि कोरला नाकासम्मका पहाडी क्षेत्रका कृषिजन्य तथा मासुजन्य उत्पादनलाई तराईमा ल्याउने र यहाँका उत्पादन पहाडी क्षेत्रमा पु¥याउने व्यवस्था मिलाउन सके व्यावसायिक तथा औद्योगिक विकासमा टेवा पुग्ने बताए ।

संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको बताए । उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिको साझा प्रदर्शनीका रूपमा मेलालाई विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेशको प्रवद्र्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजनामा मेला सञ्चालन भएको हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजित मेलामा करिब ३२५ स्टल रहेका छन् । १४ दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीका अनुसार कृषि तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएका छन् ।

मेलामा प्रवेशका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । त्यस्तै विशेष समयका लागि मेला प्रवेशका लागि विशेष टिकटको व्यवस्था गरिएको छ ।

 

">
Bajaj Grand Exchange Mela