Spread the love

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका विभिन्न भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने तराईका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। मधेश तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

">
Bajaj Grand Exchange Mela