उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । सोमबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको माइक्रोबसमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालक केसीसहित १० जना घाइते भएका छन् भने एक बालिका सकुशल रहेकी छन् । घाइते हुनेमा झापा सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं, मोरङ उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरी इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुर बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरी इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुर चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन् ।
त्यस्तै, रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने दुर्घटनामा सकुशल रहेकी छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।





















