Spread the love

तिलोत्तमा । नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू तिलोत्तमा नगर समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मणिग्रामस्थित नगर समितिको सचिवालयमा आयोजित कार्यक्रममा नेवाः देय् दबूका पूर्व केन्द्रीय सदस्य लोकहरि श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै नेपाल संवत्को ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गरे ।

नेवार समुदायका व्यापारी शंखधर साख्वाःले गरिब जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त बनाएको ऐतिहासिक दिनको स्मरणमा नेपाल संवत् प्रारम्भ भएको उनले बताए । नेपाल संवत् नेपाली समाजको मौलिक पहिचान र गौरवसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेवाः देय् दबू तिलोत्तमा नगर समितिका अध्यक्ष दिनेश कक्षपतिका अनुसार समितिबाट हरेक वर्ष नयाँ वर्षको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए । यस वर्ष देश शोकमा रहेको अवस्थालाई मध्यनजर गर्दै भव्य उत्सव नगरी सामान्य रूपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा नगर समितिका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ, सचिव दीपेश कुमार अमात्यले एकआपसमा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान गर्दै नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

">
Bajaj Grand Exchange Mela