देवदह । देवदह प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि बिर्ता राइनोजले चुमेको छ । पहिलोपटक प्रतियोगितामा सहभागी भएको बिर्ताले फाइनलमा खैरेनी ग्लाडियटर्सलाई २६ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि विजेता बिर्ता राइनोज नगद दुई लाख रुपैयासहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता खैरेनी ग्लाडियटर्स भने नगद एक लाख रुपैयामा चित्त बुझायो ।
सोमबार देवदह क्रिकेट युनिट (डिसियू) को मैदानमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको बिर्ता राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रनको लक्ष्य खडा गरेको थियो । बिर्ताका अमित यादवले आक्रामक ब्याटिङ गर्दै आफनो अर्धसतक पुरा गरे । उनले २८ बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । त्यस्तै, इन्द्रजीत यादवले २३ बलमा ३६ तथा अब्रार अलीले ३७ बलमा ३४ रनको योगदान दिए ।
मध्यम लक्ष्य पछ्याएको खैरेनी ग्लाडियटर्स भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १३२ रनमा समेटियो । खैरेनीका रुपेश कुर्मीले १९ बलमा २ चौका र ५ छक्कासहित ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ बिर्ताका धर्मेन्द्र यादवले ३ विकेट लिए । इन्द्रजीत यादव र अमित पाठकले समान २ विकेट लिए ।
यस संस्करणमा बिर्तासँगै भलुही राइजिङ र शंकरपुर सुपरकिंग्स पनि नयाँ टोलीका रूपमा सहभागी भएका थिए । अघिल्ला दुई संस्करणको विजेता पकडी प्यान्थर्स प्रतियोगितामा सहभागी थिएन भने दोस्रो संस्करणको उपविजेता टटेरा डाइनामाइट लिग चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए ।





















