बुटवल, २४ कार्तिक ।
नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम गरी मनाइँदैछ । नेवार समुदायले आज नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । यसैबिच बुटवलमा रहेका नेवा समुदाय आवद्ध खल, पुच, गुठीहरुको आयोजनामा वृहत सचेतनामुलक रयाली निकालिएको छ । श्री नेवा पुच, नेवा समाज विकास परिषदको सचिवालयमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा विधिवत पुजा गरि रयालीको शुभारम्भ गरिएको थियो । रयालीमा कुमारी, पंचकन्या, भैरव लगायत झाकी र बाजागाजासहित सयौको उपस्थितीमा बुटवल नगरपरिक्रमा गरि बुटवल उपमहानगरपालिका कार्यालयमा शुभकामना आदानप्रदान गरि समापन गरिएको पुचका अध्यक्ष काजीमान श्रेष्ठले खस्यौलीखबरलाई बताए ।
कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास रहेको इतिहासका अध्येता विमल बहादुर शाक्य बताउछन । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । नेपालको नामबाट नामकरण गरिएको यस संवतलाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पु¥याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।
नेपाल संवतको नयाँ वर्षका अवसरमा नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको इतिहासका अध्येता विमल बहादुर शाक्य बताउछन । आत्मालाई सन्तुष्ट र प्रसत्र राख्न सके देवीदेवता पनि प्रसत्र भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनले बताए ।





















