काठमाडौं,२१ कार्तिक ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु परिवर्तन र जनस्वास्थ्य सम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन् ।
सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य ः एक विश्वव्यापी दृष्टिकोण’ विषयमा छलफल आयोजना हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुने कार्यक्रम छ ।
छलफलमा जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको प्रभाव, जलवायुजन्य विपद्का कारण स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न चुनौती तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि र अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षाजस्ता समस्या बढ्दै गएका छन् । यस्ता जोखिमले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्दै आएका छन् ।
यसै सन्दर्भमा स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलमा उठाइनेछ । साथै जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि र नोक्सानीको मूल्याङ्कनबारे नेपालको धारणा प्रस्तुत गरिनेछ ।
नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धताको आवश्यकता सम्मेलनमार्फत उठाउने तयारी गरेको छ ।





















