काठमाडौ,२१ कार्तिक ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ ।
प्राधिकरणले बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो ।





















