बुटवल, ३१ असोज । रुपन्देहीको बुटवलबाट अटो रिक्सा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित घरअगाडि पार्किङ गरी राखिएको लु १ ह १७९८ नम्बरको अटो रिक्सा असोज २८ गते बिहान करिब ९ः३० बजे हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा असोज २९ गते दिउँसो ४ बजे सैनामैना नगरपालिका–१ बर्माडाँडामा ग्राइन्डरले काट्दै गरेको अवस्थामा प्रहरीले उक्त अटो रिक्सा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले अटो रिक्सा फेला पार्नुका साथै चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गुल्मी धुर्कोट गाउँपालिका–७ घर भई हाल बुटवल–१ बस्ने २० वर्षीय बाबुराम नेपाली, धुर्कोट–४ घर भई बुटवल–११ बस्ने ३३ वर्षीय रमेश नेपाली, इस्मा गाउँपालिका–१ घर भई बुटवल–१३ बस्ने ३३ वर्षीय बाबुराम थापा, मदाने गाउँपालिका–३ घर भई बुटवल–११ बस्ने २५ वर्षीय वीरबहादुर नेपाली र रेसुङ्गा नगरपालिका–५ घर भई बुटवल–११ बस्ने २३ वर्षीय दीपक खनाल रहेका छन् ।
प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले असोज ३० गते चोरीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरेको छ ।






















