काठमाडौं,२ असोज ।
सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सूचकांकमा लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन् । सूचीमा न्यूयोर्कले १०० अंकसहित पहिलो स्थान पाएको छ भने लन्डनले ९८.८ र पेरिसले ९३.४ अंक पाएका छन् ।
नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७ औँ स्थानमा रहेको छ । काठमाडौं यो स्थानमा पाँच वटा इन्डेक्सको आधारमा रहेको हो । काठमाडौं अर्थतन्त्रमा ६७० औं स्थानमा, मानवीय क्षमतामा ५६२औँ स्थानमा, जीवनस्तर ८४० औँ स्थानमा, वातावरणमा ६३९ स्थानमा र शासनमा ६३५औं स्थानमा रहेको छ ।
विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ ।





















