Spread the love

बुटवल, १ असोज । बुटवलमा विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र अत्याधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको नियोन मल्टिस्पेसियालिटी सेन्टर पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०८२ साल असोजदेखि बुटवलको अस्पताल लाइनमा सञ्चालनमा आएको सेन्टर करिब ६ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको हो । चार जना युवाको पहल तथा व्यवस्थापनमा सञ्चालनमा आएको सेन्टर पाँचतले भवनमा लिफ्टसहितका सुविधाका साथ सञ्चालन भइरहेको छ । सेन्टरका अध्यक्ष दीप केसीका अनुसार बुटवल क्षेत्रमा स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा भएको अत्याधुनिक पूर्वाधारसहितको भवनबाट सेवा दिने क्लिनिकका रूपमा आफूलाई स्थापित रहेको बताए ।

प्रदेश सरकारबाट आवश्यक स्वीकृति लिएर सञ्चालनमा रहेको सेन्टरले यस क्षेत्रमा धेरै प्रकारका स्वास्थ्य सेवा एउटै स्थानबाट उपलब्ध गराउँदै आएको जनाएको छ । सेन्टरबाट एक वर्षको अवधिमा करिब १० हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएको उनले दाबी गरे । दैनिक ओपीडी सेवामा ६० जनाभन्दा बढी सेवाग्राहीले विशेषज्ञ चिकित्सकीय सेवा लिने गरेको सेन्टरले जनाएको छ । सेन्टरमा फिजिसियन, हाडजोर्नी तथा नशा, महिला तथा स्त्रीरोग, नाक, कान तथा घाँटी, छाला तथा यौनरोग, नशा तथा मनोरोग, जनरल सर्जरी तथा युरोलोजी, ग्यास्ट्रोलगायत विभिन्न विशेषज्ञ सेवा उपलब्ध छन् । छाला तथा सौन्दर्यसम्बन्धी सेवातर्फ हेयर ट्रान्सप्लान्ट, हेयर रिमुभल, टाटु रिमुभल, फोरन बडी रिमुभर तथा हाइड्राफेसियललगायतका सेवा पनि उपलब्ध हुने सञ्चालक भानु पोखरेल बताउछन ।

त्यस्तै रेडियोलोजीअन्तर्गत भिडियो एक्स–रे, डिजिटल एक्स–रे, यूबीटी परीक्षण, ईसीजी, इन्डोस्कोपी तथा कोलोनोस्कोपी, सीटी स्क्यान, फिजियोथेरापी, प्लास्टर तथा माइनर ओटी, पीआरपी थेरापी, आईयूआई, फार्मेसी र अत्याधुनिक प्रयोगशाला सेवासमेत सञ्चालनमा रहेको सेन्टरले जनाएको छ । सामान्य प्रकृतिका शल्यक्रियाका लागि माइनर ओटी सेवा सञ्चालनमा रहेकाले बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता कम भएको सेन्टरको भनाइ छ । स्वास्थ्य उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले स्थापना गरिएको सेन्टरले छोटो समयमै आफ्नो सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकीय सेवा तथा औषधि वितरण गर्दै आएको सेन्टरका संचालक महेश पौडेलले बताए । बाणगंगा नगरपालिकामा दुईवटा तथा गैडहवा गाउँपालिका र रोल्पाको सुलिचौर क्षेत्रमा गरी चारवटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्