दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन भएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।
जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रम पश्चात् मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसंग प्रमुख सचिव कुँवरले भेट गरेका छन ।
परिचयात्मक कार्यक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराए । कार्यक्रममा प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत परिणाम दिन सकिने बताए । ‘शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,’ उनले भने । प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने स्पष्ट पारे ।
कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचिव कुँवरले कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।





















