काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागअन्तर्गतको सूचना अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा केही सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
रसुवामा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीका कारण जिल्लाका मुख्य राजमार्ग नै प्रभावित भएकाले अर्को सूचना नभएसम्मका लागि सडक सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटमा पनि दुई सडकखण्ड प्रभावित छन्। शिवपुरी गाउँपालिका–६ क्षेत्रमा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। यस्तै, विदुर नगरपालिका–१० सिमटार क्षेत्रमा पासाङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी तथा शीतलबजार क्षेत्रमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मत भइरहेकाले सवारी साधनको चाप हेरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। यात्रुलाई सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ ।
यसैगरी हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काठमाडौँतर्फको सडकखण्डमा समेत बाढीको सम्भावनाका कारण यातायात सञ्चालनमा समयअनुसार नियन्त्रण तथा सावधानी अपनाइएको छ ।




















