मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, क्षति र चुनौती न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यको आह्वान गर्ने बताएका छन्। मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का अवसरमा पठाएको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट सिर्जित असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या, क्षति र समाधानका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उनको भनाइ छ।
सन्देशमा विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमाल तथा हिमनदीमा जोखिम बढ्ने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेजस्ता समस्या देखिएको उल्लेख गरिएको छ। यस्ता परिवर्तनले हिमाली क्षेत्रसँगै समग्र नेपालमा जनजीवन, कृषि तथा जैविक विविधतामा समेत असर पार्न थालेको प्रधानमन्त्री शाहले बताएका छन्।
जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। उनले स्थानीय तहबाट जलवायु अनुकूलन र जोखिम व्यवस्थापनका लागि भइरहेका पहललाई महत्त्वपूर्ण भनेका छन्।
घरपझोङ गाउँपालिकाको आयोजनामा जोमसोममा सुरु भएको दुईदिने सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन्। सम्मेलनमा देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी तथा हिमपहिरोका कारण ठूलो जनधन र भौतिक क्षति भएको पछिल्लो परिस्थितिबीच आयोजना गरिएको सम्मेलनलाई जलवायुजन्य विपद् र त्यसको व्यवस्थापनबारे राष्ट्रिय बहसका रूपमा समेत हेरिएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने तयारी भइरहेका बेला आयोजना गरिएको सम्मेलनले नेपालको जलवायु संकट र हिमाली क्षेत्रका समस्यालाई अन्तर्राष्ट्रिय तहमा उठाउने अवसरका रूपमा समेत महत्व पाएको छ।




















