Spread the love

बुटवल, ३० भदौ ।
अर्घाखाँचीमा पुस्तौँदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भैरव नाच यस वर्ष पनि बुटवलमा प्रदर्शन गर्ने तयारी गरिएको छ । नेवा समाज अर्घाखाँची–रुपन्देही परिवारको आयोजनामा भैरव नाचलाई बुटवलसहित देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी भइरहेको हो ।

बुटवल–११ देवीनगरस्थित भैरव मन्दिरमा करिब १५ दिनदेखि भैरव नाचको अभ्यास भइरहेको छ । समाजका ५५ जनाभन्दा बढी युवा विभिन्न बाजाको तालमा नृत्यको अभ्यासमा जुटेका छन् । मादल बजाउनेदेखि घोडाको स्वरूपमा नृत्य गर्ने तथा भुच्चा नाच, चरो जाच प्रस्तुत गर्ने कलाकारहरू नियमित अभ्यास गरिरहेका छन् । भैरव नाचलाई भगवान् शिवको अवतारका रूपमा मान्ने गरिन्छ । पौराणिक समयदेखि चल्दै आएको यो नृत्य शान्ति, सद्भाव र धार्मिक आस्थासँग जोडिएको संस्कृतिका रूपमा अर्घाखाँचीमा प्रचलित छ । समयक्रमसँगै पुस्तान्तरण हुँदै आएको भैरव नाच पछिल्लो समय युवा पुस्ताबीच समेत आकर्षणको विषय बन्दै गएको छ ।

नेवा समाज अर्घाखाँची–रुपन्देहीका अध्यक्ष देवीकुमार श्रेष्ठका अनुसार भैरव नाचलाई यस क्षेत्रको सांस्कृतिक पहिचान र ‘ब्राण्ड’का रूपमा स्थापित गर्ने उद्देश्यले प्रदर्शन तथा संरक्षणको अभियान अघि बढाइएको हो । उनका अनुसार भदौ ५ गतेदेखि आवश्यक तयारी सुरु गरिएको हो । असोज १ गते देवीनगरस्थित चौपारीमा भैरव नाच प्रदर्शन गरिने तयारी छ । नाचमा सहभागी कलाकार तथा बाजागाजाको व्यवस्थापन समाजका सदस्यहरूकै सहभागितामा भइरहेको छ ।

भैरव नाचमा सहभागी हुने कलाकारहरूलाई परम्पराअनुसार ‘ताकुण्डली’ तथा भैरव भाइहरूको पोशाक, जुत्ता लगायतका सामग्रीको सेटसमेत समाजबाट उपलब्ध गराईएको छ । परम्परागत पोशाक, बाजाको ताल र विशेष नृत्य प्रस्तुतिले भैरव नाचलाई अन्य सांस्कृतिक नृत्यभन्दा फरक बनाउने आयोजकको भनाइ छ । यस वर्ष देशमा शान्ति, सद्भाव र समृद्धिको कामनासहित भैरव नाच प्रदर्शन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नेवा समाज अर्घाखाँची–रुपन्देहीको स्थापना २०७५ साल भदौ २ गते भएको हो । संस्थामा हाल ३२० जना आजीवन सदस्य आबद्ध छन् । समाजले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै भैरव नाचको संरक्षण र प्रवद्र्धनलाई समेत प्राथमिकता दिँदै आएको छ । बुटवलमा भैरव नाच पहिलोपटक २०७६ सालमा प्रदर्शन गरिएको थियो । त्यसपछि काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समेत यसको प्रदर्शन गरिएको समाजले जनाएको छ । २०८० सालमा विशेष भैरव नाच निकालिएको थियो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भैरव नाच अर्घाखाँचीसँगै भक्तपुर, ललितपुर र बागलुङलगायतका क्षेत्रमा पनि विभिन्न स्वरूपमा प्रस्तुत हुँदै आएको छ । बदलिँदो समयसँगै मौलिक संस्कृति हराउँदै जाने जोखिम बढिरहेका बेला युवापुस्तालाई सहभागी गराएर भैरव नाचलाई पुस्तान्तरण गर्नु संरक्षणको महत्वपूर्ण प्रयासका रुपमा हेरिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्