Spread the love

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने धार्मिक परम्परा छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् । धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको विश्वास गरिन्छ । आज घरमा राखिएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।

बाबुको मुख हेर्ने दिन

कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ । यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्दै आशीर्वाद लिने परम्परा छ ।

बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिए सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

गोकर्णमा विशेष मेला

कुशेऔँसीका अवसरमा काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ । गोकर्णलाई ‘उत्तरगया’का रूपमा समेत चिनिने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए ।

यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गरेको छ । दिवङ्गत पितृको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न भक्तजन वेत्रावती पुग्ने गर्छन् । यद्यपि यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने वा नहुने विषयमा अझै निश्चित नभएको जनाइएको छ ।

धार्मिक ग्रन्थहरूमा कुशेऔँसीलाई पितृ सम्मान तथा पुण्य आर्जनको पर्वका रूपमा उल्लेख गरिएको छ । यस दिन गरिएको दान, तर्पण तथा पितृकार्यबाट विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण देशभरका विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्