काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको विभागले जनाएको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी र तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



















