बुटवल, १५ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले धनमुडा चौर समाज रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोगको निर्णय गरेको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो धनजन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना सहित समाजका अध्यक्ष देवबहादुर थापाले सरकारलाई समाजबाट थोरै भएपनि सहयोग गरेको बताए ।
प्राकृतिक विपद्को यस दुःखद् घडीमा बाढी प्रभावित व्यक्ति तथा परिवारको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि देशभरबाट सहयोग जरुरी रहेको उनले बताए ।
यसैबीच, समाजले वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ २१ गते आयोजना गर्ने भनिएको तीज मिलन तथा दरखाने कार्यक्रमसमेत स्थगित गरेको जनाएको छ । कार्यक्रम स्थगित गरिएको जानकारी सम्बन्धित सबै सरोकारवालालाई गराइएको छ ।





















