बुटवल, २ भदौ ।
भारत–नेपाल बीच सामाजिक सेवा, मानवीय सहयोग र आपसी मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यले रोटरी क्लब अफ कुशीनगर र रोटरी क्लब अफ बुटवल डाउनटाउनबीच ‘सिस्टर क्लब’ सम्बन्ध स्थापना भएको छ । होटल कैलाशमा आयोजित संयुक्त बैठकमा दुइ क्लब बिचको आधिकारीक रुपमा सिस्टर क्लब घोषणा गरिएको हो ।
दुवै क्लबले एक–अर्कालाई ‘सिस्टर क्लब’ अर्थात् भगिनी संस्थाका रूपमा स्वीकार गर्दै आपसी सहयोग र सहकार्यलाई औपचारिकता दिने सम्झौतापत्रमा हस्ताक्षर भएको नेपालतर्फबाट रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए । रोटरीको ‘सेवामार्फत मित्रता’को भावनालाई दुई देशबीच थप विस्तार गर्ने दिशामा यो साझेदारी महत्वपूर्ण पहल अघि बढाएको उनले बताए ।
यसैबिच निकट भविष्यमा महेशपुर नाकामा सार्वजनिक शौचालय निमार्णको संयुक्त परियोजना गर्ने, कुशिनगर र लुम्बिनीको पर्यटनमा टेवा दिने, बोर्डर एरियामा दुबै रोटरी क्लबहरुले स्वागत बोर्ड राख्ने, रोटरीको विभिन्न सामाजिक सेवाका कार्यक्रमहरुमा स्वयंसेविका परिचालिकाहरु परिचालन लगायतका सामाजिक कार्य गर्ने तयारी रहेको निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले बताए ।
रोटरी क्लब अफ कुशीनगर अध्यक्ष अजय कुमार सिंहले सीमावर्ती क्षेत्रसहित नेपाल र भारतका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा जनहितसँग सम्बन्धित संयुक्त सेवामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा नेपालतर्फबाट रोटरी क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष तथा जिल्ला युवा सेवा अध्यक्ष मण्डल–३२९२ का राजेन्द्र ढकाल, पूर्व अध्यक्ष विमलराज भट्टराई, उपाध्यक्ष प्रकाशराज पौडेल, कमल नेपाल, कमल केसी, कमलकुमार शर्मा, इनरव्हील क्लब अफ बुटवल जितगढीकी चार्टर अध्यक्ष उमा अर्यालको सहभागिता रहेको थियो ।
भारततर्फबाट सह–संरक्षक वाहिद अली, अध्यक्ष अजय कुमार सिंह, सुनिता सिंह, वरिष्ठ उपाध्यक्ष विजय कृष्ण द्विवेदी, सचिव दुर्गेश चतुर्वेदी, कोषाध्यक्ष अखिलेश शर्मा, सहसचिव तथा सार्जेन्ट सुनिल सिंह, सार्जेन्ट–एट–आम्र्स सत्येन्द्र राई, सहकोषाध्यक्ष अमरेन्द्र नारायण सिंह, मिडिया इन्चार्ज रञ्जित श्रीवास्तव तथा सदस्यहरू विनोद वर्मा, परमेश्वर गुप्ता र फौजिया परवीन सहभागी थिए ।
दुवै क्लबका पदाधिकारीहरूले सिस्टर क्लबको सम्बन्ध केवल औपचारिक साझेदारीमा सीमित नराखी त्यसलाई प्रत्यक्ष सेवामूलक अभियानमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । विशेषगरी दुई देशका सीमावर्ती समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, महिला तथा युवा सशक्तिकरण र मानवीय सहयोगका क्षेत्रमा संयुक्त कार्यक्रम अघि बढाउने योजना बनाइएको छ ।



















