काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात आंशिक तथा पूर्णरूपमा प्रभावित भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलो खोलामा पहिरो खसेपछि सितापाइला–धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।
कोशी प्रदेशअन्तर्गत भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ । इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोबाट यातायात सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा वर्षाका कारण सडकमा थप जोखिम देखिएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–काठमाडौं सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, मकवानपुरको हेटौंडा–भीमफेदी–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गका दुई स्थानमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा पनि वर्षाजन्य विपद्का कारण सडक यातायात प्रभावित भएको छ। बागलुङको कालीगण्डकी करिडोर सडकखण्ड, मनाङको चामे–बेँसीसहर सडकखण्ड र अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छन् । मुस्ताङको बेनी–जोमसोम सडकखण्ड भने पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस्तै, डोलखामा तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–सिंगटी राजमार्ग बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा बन्द रहेको छ ।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ क्षेत्रमा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षा अझै जारी रहेकाले पहिरो, बाढी तथा सडक कटानको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अवरुद्ध सडकमा जबर्जस्ती सवारी नचलाउन यात्रु तथा चालकलाई आग्रह गरिएको छ ।






















