काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक आम्दानी हुने भन्दै विभिन्न मुलुक पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काठमाडौंको शंखमूलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१, शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थायी घर भई सोही स्थानमा बस्ने ४४ वर्षीय नवराज भट्ट रहेका छन् ।
प्रहरीका अनुसार शेषले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनले वैदेशिक रोजगारीका लागि आकर्षक आम्दानी हुने प्रलोभन देखाएर उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, भट्टले एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।






















