सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको झडपलााई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । साउने सोमबारको ब्रतका लागि हिन्दू धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राती अर्को समूहले आक्रमण गरेपछि झडप सुरु भएको बताइएको छ ।
झडपले उग्ररूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा मेहताको गोली लागेर मृत्यु भएको बताइएको छ । घटनामा गोली लागेर तथा झडपका क्रममा करिब १० जना घाइते भएको प्रहरीले जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार झडप नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनापछि जिल्लाका विभिन्न स्थानबाट थप नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी निरीक्षक पराजुलीले घटनास्थलको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।






















