कपिलवस्तु, १० साउन ।
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ बिमिया स्थित हुलाकी सडकखण्डमा नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा, कपिलवस्तु पठाएकोमा चिकित्सकले आइतबार राति १ः५० बजे दुवै जनालाई मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागारका २१ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बस चालक सुर्खेत गुर्भाकोट नगरपालिका–२ खरीगैराका २८ वर्षीय श्यामकुमार कामीलाई रुपन्देहीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।






















