बुटवल, ९ साउन ।
नेपाल सितोरियो कराते संघ, रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुदायमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले संघबाट वार्षिक कार्ययोजना अनुसार नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक नारायण थापाले बताए । रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा उनले जोड दिए । खेलकुदले स्वस्थ शरीर निर्माण गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि खेलाडीहरूको भूमिका महत्वपूर्ण रहने उनको दाबी छ ।
कार्यक्रममा करातेका वरिष्ठ प्रशिक्षक उमेश थापा, प्रेमबहादुर राना, बुद्ध श्रेष्ठ, कराते खेलाडी तथा खेलप्रेमी अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । संघले खेलकुदसँगै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।






















