काठमाडौं, ९ साउन ।
हिन्दू धर्मावलम्बीहरूले आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । आजको दिन घरघरमा तुलसीको बिरुवा रोप्ने, भगवान् विष्णुको विशेष पूजा–आराधना गर्ने तथा धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीको दल आज घरको आँगन वा मठमा रोप्ने परम्परा रहिआएको छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गरिन्छ ।
आज रोपिएको तुलसीको बिरुवाको चार महिनासम्म नियमित पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन भगवान् विष्णु निद्राबाट जाग्ने धार्मिक विश्वास रहेको छ । यस अवधिलाई चतुर्मास भनिन्छ र यस समयमा पर्ने आठवटा एकादशीमा विष्णुको विशेष उपासना तथा एकादशी महात्म्यको पाठ गर्ने परम्परा छ ।
हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायण मन्दिर, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। विभिन्न धार्मिकस्थल, मठमन्दिर, पाटी र सत्तलमा आजैदेखि चार महिनासम्म चल्ने चतुर्मास पुराण पनि सुरु गरिएको छ । धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक र औषधीय महत्व पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा आयुर्वेदिक उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले घरघरमा तुलसी रोप्ने परम्परालाई वातावरण संरक्षणसँग पनि जोडेर हेरिएको छ ।
वर्षभर मनाइने २४ एकादशीमध्ये आषाढ शुक्ल हरिशयनी एकादशी र कार्तिक शुक्ल हरिबोधनी एकादशीलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।






















