Spread the love

काठमाडौं, ९ साउन ।
स्पेन र फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब १ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । डढेलो नियन्त्रणबाहिर जान थालेपछि स्पेनले राजधानी म्याड्रिड आसपासका क्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ भने फ्रान्सले सेना परिचालन गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ ।

स्पेनको पश्चिमी म्याड्रिड क्षेत्रमा फैलिएका तीनवटा डढेलो आपसमा गाभिएर विशाल आगलागीमा परिणत भएपछि अग्निनियन्त्रकहरूलाई नियन्त्रण गर्न कठिन भएको छ । अत्यधिक गर्मी, तीव्र हावाहुरी र सुख्खा मौसमका कारण आगो झन् तीव्र गतिमा फैलिरहेको अधिकारीहरूले बताएका छन् ।

म्याड्रिड क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई “क्षेत्रकै इतिहासको सबैभन्दा भयानक डढेलो“ भन्दै प्रभावित क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लागू गरिएको जानकारी दिएकी छन् । स्पेनको आपतकालीन सेवाका अनुसार डढेलो म्याड्रिडबाट करिब ५० किलोमिटर टाढाका रोब्लेडो डे चावेला र फ्रेस्नेडिलास डे ला ओलिभा नगरपालिकातर्फ फैलिरहेको छ । आगो नियन्त्रणका लागि मिलिटरी इमर्जेन्सी युनिट समेत परिचालन गरिएको छ ।

म्याड्रिड क्षेत्रमा मात्रै ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । तीमध्ये ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ भने २० हजार जनालाई घरभित्रै बस्न निर्देशन दिइएको छ । प्रारम्भिक विवरणअनुसार म्याड्रिडमा करिब ६ हजार हेक्टर र आभिला क्षेत्रमा ९ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेर नष्ट भएको छ। आभिलामा लागेको आगो लापरवाहीका कारण सुरु भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यता फ्रान्सको दक्षिण–पश्चिमी जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा फैलिएको डढेलोले पनि ठूलो क्षति पु¥याएको छ। १ लाख १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने डढेलो बोर्डो सहरतर्फ फैलिने जोखिम बढेपछि थप बस्ती खाली गराउने तयारी भइरहेको छ ।

जिरोन्ड क्षेत्रमा मात्रै १९ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको छ भने कम्तीमा ८० वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । पर्यटकीय क्याप फेरेट प्रायद्वीप खाली गराइएको छ भने सडक अवरुद्ध भएपछि हजारौँ पर्यटक र स्थानीयवासीलाई डुङ्गामार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उद्धार र राहतका लागि सेना परिचालन गरेका छन् । आगो निभाउने क्रममा ५० भन्दा बढी अग्निनियन्त्रक घाइते भएको जनाइएको छ । युरोपेली संघले पनि स्पेन र फ्रान्सलाई सहयोग गर्न विशेष अग्निनियन्त्रण विमान तथा हेलिकप्टर परिचालन गरेको छ । एपी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्