काठमाडौँ, ६ साउन ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुर्घटनाबाट गण्डकीमा २ जना, मधेश, लुम्बिनी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् । प्रहरीका अनुसार मधेश प्रदेशमा १६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, गण्डकीमा ३ जना, सुदूरपश्चिममा १२ जना र कर्णालीमा २७ घाइते भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–६ पावर हाउसस्थित सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–६ का ६० वर्षीय राजकुमार साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–१० स्थित सडकखण्डमा इको भ्यान करिब १५० मिटर तल खस्दा चालकसहित सात जना घाइते भएका थिए । दुर्घटनामा घाइते ललितपुर महानगरपालिका–७ निवासी ५२ वर्षीय राजेन्द्र महर्जनको उपचारपछि घर फर्किए पनि स्वास्थ्य अवस्था जटिल बनेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ पृथ्वीराजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोरखा शहीदलखन गाउँपालिका–४ का २५ वर्षीय गोविन्द गजेल गम्भीर घाइते भई उपचारको क्रममा भरतपुरस्थित सीएमसी अस्पतालमा मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१५ ढुङ्गेसाँघुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा पोखरा–१५ का १९ वर्षीय सौगात गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्गमा पिकअप सडकबाट करिब १२० मिटर तल खस्दा स्याङ्जाको सिरुबारी गाउँपालिका–३ का कोसे बहादुर तलामी गम्भीर घाइते भई उपचारका क्रममा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।






















