Spread the love

काठमाडौं, १ साउन ।
अविरल वर्षासँगै देशका विभिन्न स्थानका राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलोका कारण यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले प्रभावित सडकमा सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि शुक्रबार बिहानदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यद्यपि वर्षायामको जोखिमलाई मध्यनजर गर्दै मकवानपुरस्थित कान्तिलोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले उक्त सडकको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ अन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा सडकमाथिबाट ढुङ्गा खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सडक विभागसहित सम्बन्धित निकायले पहिरो पन्छाउने कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र अत्यावश्यक बाहेक जोखिमपूर्ण समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्