काठमाडौं,२७ असार ।
गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ ।






















