बुटवल, २४ असार ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले एकपटक अपराधमा संलग्न भएका व्यक्तिहरू पुनः अपराधमै फर्किने प्रवृत्ति बढ्दै गएको बताएका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै जिल्ला प्रहरी प्रमुख शाहीले अपराध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, समाज र राज्यको साझा दायित्व भएको बताए । उनले अपराध दोहोरिनुमा पारिवारिक वातावरण, सामाजिक स्वीकार्यता र पुनःस्थापनाको अभाव मुख्य कारणका रूपमा देखिएको उल्लेख गरे । “हामीले समग्र रूपमा हेर्दा एउटै व्यक्ति पुनः अपराधमा संलग्न हुने प्रवृत्ति देखिरहेका छौं । यसमा परिवार र समाजको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,“ उनले भने । अपराधमा संलग्न व्यक्तिलाई सजायपछि समाजमा कसरी पुनःस्थापित गर्ने भन्ने विषयमा राज्यले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । पुनःस्थापनाको अवसर नपाउँदा धेरै व्यक्ति फेरि अपराधको बाटो रोज्ने गरेको उनको भनाइ छ । उनले रुपन्देहीमा भएका अनुसन्धान र प्रहरी तथ्यांकलाई उद्धृत गर्दै करिब ८० प्रतिशत अपराध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पारिवारिक समस्यासँग जोडिएको बताए । पारिवारिक विखण्डन, आर्थिक समस्या, अभिभावकीय निगरानीको कमी तथा सामाजिक असहयोगका कारण अपराध बढ्ने गरेको उनको विश्लेषण छ ।
बुटवल–११ कालिकानगरस्थित द कन्सेप्ट क्लब अगाडि असार १७ गते बिहान भएको खुकुरी प्रहार तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा फरार रहेको बुटवल–११ का २९ वर्षीय आचे भन्ने सुमित गुरुङको घटनालाई हेर्दा पनि यसप्रकारकै रहेको भेटिएको उनले बताए । घटनामा २८ वर्षीय एक युवक गम्भीर घाइते भएका थिए । अनुसन्धानका क्रममा निज गुरुङ कर्तब्य ज्यान मुद्धामा आठ वर्ष कैद सजाय भुक्तान गरि थुनामुक्त भएको प्रहरीले जनाएको छ ।
यसैगरि सुनका गरगहना चोरी प्रकरणमा संलग्न भारतको उत्तर प्रदेश गोरखपुरका ३१ वर्षीय राहुल जायसवाल, महाराजगञ्जका २२ वर्षीय प्रिन्स जायसवाल, बिहारको वाल्मिकीनगरका २८ वर्षीय निरज कुमार गुप्ता तथा सिद्धार्थनगर–५ का ३२ वर्षीय प्रदीप कान्दु बनियाँ गरि चार जना सार्वजनिक गरेका छन । प्रहरीका अनुसार असार १६ गते तिलोत्तमा नगरपालिका–३ शान्तिचोकमा भएको सुनको सिक्री चोरी घटनाको अनुसन्धानका क्रममा सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको लु ५५ प २१२२ नम्बरको मोटरसाइकल र चोरी भएको सुनको सिक्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरि भारतबाट चोरी गरिएका मोटरसाइकल नेपाल ल्याएर नेपाली नम्बर प्लेट तथा नक्कली सवारी दर्ता किताब तयार गरी बिक्री गर्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहको साथबाट ७ वटा मोटरसाइकल, ३ वटा स्कुटर, २ वटा ल्यापटप र नम्बर प्लेट तथा कागजात बनाउन प्रयोग हुने प्रिन्टर समेत बरामद गरि बुधबार सार्वजनिक गरेको हो ।
विशेष सूचनाका आधारमा असार ७ गते बुटवल उपमहानगरपालिका–११ स्थित एक घरमा खानतलासी गर्दा चोरीका सवारीसाधन र नक्कली कागजात तयार गर्ने सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–८ घर भई हाल बुटवल–११ बस्ने २९ वर्षीय अशोक साह, बुटवल–१५ का १९ वर्षीय सरोज उपाध्याय, बुटवल–१३ का ३६ वर्षीय मेहेन्द्र गुरुङ र बुटवल–११ का २७ वर्षीय विकास केसी रहेका छन् । पक्राउ परेका मध्ये मेहेन्द्र गुरुङ यसअघि लागूऔषध मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी र अन्य केही आरोपित सार्वजनिक अपराधका मुद्दामा पनि कारबाही भोगिसकेका छन् ।
भिडियो रिर्पोट





















